११ वर्षमा १५ सय मिर्गौला प्रत्यारोपण, प्रत्येक वर्ष तीन हजार नयाँ बिरामी थपिँदै
वीरगंज संजाल
१९ भाद्र २०७६, बिहीबार ०१:५४
४३२७
काठमाडौं । नेपालमा ११ वर्षमा करिब १५ सय सफल मिर्गाैला प्रत्यारोपण भएको छ । सरकारीस्तरका तीन र निजीस्तरका पाँच अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् । यस ११ वर्षको एक हजार चार सय ३२ मिर्गौलाको सफल प्रत्यारोपण भएको तथ्याङ्कले देखाएको छ ।
नेपालमा सन् २००८ मा त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो । अस्पतालले पहिलो मिर्गाैलाका प्रत्यारोपण हेमराज श्रेष्ठमा गरेको थियो । श्रेष्ठलाई उनकी श्रीमतीले नै मिर्गौला दान गरेकी थिइन् ।
नपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलाको समस्या रहेका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषीकुमार काफ्ले बताए । “अझै पनि कतिपय बिरामी अस्पतालसम्म आउन सकेका छैनन् । सहरी क्षेत्रका ग्रामिण क्षेत्रका तुलनामा छिटो आउने गरेका छन्,”उनले भने, “हरेक वर्ष मिर्गौलारोगको उपचारमा तीन हजार नयाँ बिरामी थपिने गरेका छन् । जुन अस्पतालमा आउने बिरामीको मात्र तथ्यांक हो ।” पछिल्लो समय मिर्गाैलाका बिरामीहरु बढ्नुका कारण खानपान र जीवनशैलीका कारण रहेको उनले बताए ।
नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब चार हजार पाँच सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् ।
राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र वि.सं. २०६९ कात्तिक २७ देखि हेमोडायलाइसिस सेवा सुरु गरेको थियो । सोही माघ ६ मा केन्द्रले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । त्यस यता हालसम्म ६ सय ५६ जनामा मिर्गौला प्रत्यारोपण गराएको तथ्यांक छ । केन्द्रले सबैभन्दा बढी मृगौला प्रत्यारोण गरेको देखिन्छ ।
त्यसैगरी, त्रिवि शिक्षण अस्पतालले हालसम्म पाँच सय ७२ जनामा प्रत्यारोपण गरेको तथ्यांकले देखाएको छ । यसरी हेर्दा मिर्गौला प्रत्यारोपणको अनुमति लिएका आठ अस्पतालमध्ये करिब ८६ प्रतिशत हिस्सा मानवअंग प्रत्यारोपण र टिचिङ अस्पतालको ओगटेको देखिन्छ । वीरले हालसम्म जम्मा एक सय ५० जनामा मिर्गौला प्रत्यारोपण गराएको छ । वीरमा प्रत्यारोपणको गति सुस्त हुनुमा अस्पतालममा रहेका विशेषज्ञहरु छोड्नु र हाल भएका विशेषज्ञले नेतृत्व लिन नसक्दा प्रत्यारोपण कम संख्यामा भएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
निजस् अस्पतालतर्फ वि.स २०७३ असार १० मा सरकारले ग्रान्डी अस्पताललाई मिर्गाैला प्रत्यारोपणको अनुमति दिएको थियो । त्यसयता हालसम्म ४५ जनाको प्रत्यारोपण गरेको छ । सोही प्रत्यारोपण अनुमति पाएको निदान अस्पतालले भने हालसम्म जम्मा पाँच जनाको मात्र प्रत्यारोपण गरेको बताइन्छ । । त्यस्तै, सुमेरु सामुदायिक अस्पतालले असार ३० र साउन २ मा एकजनामा आधा शुल्क लिएर प्रत्यारोपण गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले चार लाखमा नै प्रत्यारोपण सेवा दिने समेत जानकारी दिएको छ ।
कलेज अफ मेडिकल साइन्सेस भरतपुरले दुई जना बिरामीमा प्रत्यारोपण गरेको छ । चितवन मेडिकल कलेजले भने गत वैशाखमा प्रत्यारोपण अनुमति पाए पनि हालसम्म प्रत्यारोपण गर्न सकेको छैन । मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि दाताको अभाव हुने, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेकोे बताए ।
त्यस्तै, मानव अंग प्रत्यारोपण निर्देशिका, २०७५ को दफा २८ को उपदफा २ मा अस्पतालमा अंग प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुर्नुपर्ने उल्लेख छ । सोही उपदफामा नै सूचीकृत अस्पतालमा प्रत्यारोपणका लागि दुईवटा अप्रेसन थिएटर, एनेस्थेसियाको इक्विपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्तपरीक्षण २४ घण्टै उपलब्ध हुनुपर्ने उल्लेख छ ।
सरकारले वि.स २०७४ वैशाख १ बाट मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको थियो । त्यसअघि नै मिर्गौलाको डायलासिस सेवा निःशुल्क गरिसकेको थियो ।