जी–सेभेन राष्ट्रको शिखर सम्मेलनको सम्बोधनको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को वर्षको सम्मेलन माएमी, फ्लोरिडा नजिकै रहेको उनको डोरल कन्ट्री क्लबमा गर्ने निमन्त्रणा दिएका छन् । उनले सो क्लब सपनाको संसारजस्तो भएको भन्दै गजबका भवनभित्र फ्लोरिडाकै सबैभन्दा ठूला र उत्तम बलरुम भएको बखान गरे । राष्ट्रपति ट्रम्पले सार्वजनिक गर्ने यस्ता कुराको सिलसिला चलेको आधा शतक भइसकेको छ र यसको पारो अझ चढ्दो छ ।
कसैले चाहेमा ट्रम्पको नाम लेखेर गुगल एनग्राम्सजस्तो डिजिटल समाचार स्रोतमा खोजेमा यस विषयमा जानकारी पाइन्छ । उनका बोलीको संक्रमण फैलन अलि ढिलो भए पनि लामो समयदेखि यो फैलँदै गएको छ । त्यसले गर्दा उनको भनाइले अमेरिकाको सार्वजनिक बहसमा प्रभाव देखिने संभावना छैन भन्न सकिन्न ।
ट्रम्पको प्रतिभा चाहिँ के हो भने जिन्दगीभर उनले त्यस्ता विषयलाई समाएर बसेका छन् जुन कुराले उनको बोली फैलाउन वा बोलीको संक्रमण बढाउने काम गरिरहेको देखिन्छ । त्यसका लागि भड्किलो सौन्दर्य (ग्ल्यामर), सुन्दर स्त्रीहरूबाट घेरिएर बस्नु तथा आफ्नो प्रभाव क्षेत्र अत्यन्तै व्यापक भएको देखाउनु उनको विशेषताको रुपमा देखाइएको छ ।
उनले चर्चित हुने तरिका सन् १९८३ बाट विशेषरूपमा अपनाएको देखिन्छ, जुनबेला द न्यु योर्क टाइम्सले “डोनल्ड ट्रम्पको साम्राज्य तथा दम्भ” शीर्षकमा एक लेख प्रकाशित ग¥यो । त्यसमा उनले आफू “विश्व विख्यात न्यु योर्क सहरको एक प्रतीक तथा संसारका धनीहरूको तीर्थस्थल भएको,” बताएका थिए ।
उनको व्यावसायिक कुस्ती अथवा रेस्लिङप्रतिको मोहले पनि यस विषयमा केही भन्छ । रेस्लिङ यस्तो मनोरंजक खेल हो जसमा छलपूर्वक स्टेजमा देखाइएको कुस्तीलाई सत्य साबित गर्न खोजिन्छ । यद्यपि, त्यो सबै नाटकमात्र हो । रेस्लिङको भाषामा यस्तो नक्कली कुरालाई सक्कली देखाएर झुक्याउने प्रक्रियालाई ‘केफेइब’ भनिन्छ । ट्रम्पले केफेइबमा प्रवीणता हासिल गरेका छन् र यो तरिकालाई सर्वत्र प्रयोग गरेर आफ्नो बोली र भाषणको संक्रमण फैलाउन प्रयोग गर्छन् । त्यतिमात्र होइन उनले सन् २००७ मा रेस्लिङमा एउटा नक्कली द्वन्द्वमा समेत आफैँले भाग लिए ।
भाग्यले नै भन्नुपर्छ उनलाई सन् २००४ मा एउटा टेलिभिजन रियालीटी सो द एप्रेन्टिस चलाउने मौका प्राप्त भयो । यस सोमा साँच्चिकै व्यापारिक प्रतिस्पर्धा हुन्थ्यो । यो कार्यक्रमसँगै उनले आफूलाई एक अत्यन्त कडा तर प्रेमिल व्यक्तिको रुपमा जनतामाझ स्थापित हुनसक्ने मौका देखे । “यु आर फायर्ड” (तिमी निकालियौ) भन्दै हार्ने व्यक्तिको मुखैमा चिच्याउने र विजेता तथा पराजितप्रति केही न्यानोपन सँगसँगै देखाउने तरिका उनले अपनाए ।
आफूले बोलेका कुरालाई चर्चित बनाउन सफल भइसकेपछि पनि उनी आफ्नो टेलिभिजन कार्यक्रम संचालकको छविमा बाँचेका छन् । रिपब्लिकन पार्टीको २०१६ को अधिवेशनमा अमेरिकालाई एक ओर्लदो शक्तिको रूपमा चित्रित गर्दै उनले घोषणा गरे – “मैलेमात्र यो समस्या सुल्झाउन सक्छु ।” नभन्दै उनले आफ्ना उच्च पदस्थ सहयोगीलाई एकपछि अर्को गर्दै तीव्र गतिमा निकाल्दै गए । यो कार्यले उनको सरकारमा कोही पनि स्वतन्त्र हैसियतको व्यक्ति बाँकी रहेनन् । यसले एक नयाँ प्रकारको स्वेच्छाचारिता देखियो, ट्रम्पको सनक । जुन सनकको कारणले र अमेरिकाको विश्वसँग रहेको व्यापारिक सम्बन्धका कारणले संसारमा नै असर पर्ने देखिएको छ ।
तर, उनले देखाएको चरित्र उनको आफ्नो मौलिक सोच होइन । उनी हजारौं वर्ष पहिलेदेखि अस्तित्वमा रहेको र बारम्बार प्रतिविम्बित हुने एउटा विचारको एउटा पाटो समाएर अघि बढेका छन् । पुरातन दोषदर्शी (सिनिक) समोसाटाका लुसियन नामक व्यक्तिको दोस्रो शताब्दीको वाक्चातुर्यसम्बन्धी एउटा निबन्धमा ‘सार्वजनिक भाषणका प्रोफेसर’ मा नेतृत्वमा पुग्ने व्यक्तिले शक्तिशाली देखिने तरिकालाई आफ्नो जीवनमा अपनाएर कसरी फाइदा उठाउन सक्छन् भनेर बयान गरिएको छ ।
“… तिम्रो निजी जीवनमा जेसुकै गर वा सबैथोक गर, जुवा, सुरापान तथा धेरै सुन्दरीको संगत गर वा नगरे पनि यी चीजको धाक लगाऊ । सबैलाई यी कुरामा आफू लागेको बताऊ, अझ सुन्दर स्त्रीले आफ्ना लागि लेखेको भनेर पत्र पनि देखाऊ । आफूलाई सधँै अत्यन्त शीष्ट, जान्ने देखाऊ र आफूप्रति महिला भुतुक्कै हुन्छन् भन्ने भान पार्न अलि मेहनत गर । यसले सर्वसाधारण जनताको तिमीप्रतिको सोचमा प्रभाव पर्छ, यसले महिलाहरूमा पनि तिम्रो प्रभाव छ भन्ने देखाउँछ ।”
लुसियनका अनुसार यस्तो प्रभाव वा कथन सत्य हुनु पर्दैन बरु सत्यजस्तो बनाइनुपर्छ वा भान पार्न सक्नुपर्छ । वास्तविकता के हो भन्ने भन्दा पनि भनाइको निरन्तरता वा दोहो¥याइरनुको महत्त्व बढी हुन्छ ।
“आफूसँग त्यसपछि ल्याउनुपर्ने सैद्धान्तिक विषय भनेको बेवास्ता हो, अनि हतारो वा उत्ताउलोपन हो त्यसपछि ढिटपना र लाज पचाउन सक्नु हो । नम्रता, सम्मानको भाव, आत्मसंयम तथा लाजलाई घरमै छाड्न सक्नुपर्छ । किनभने ती गुण काम नलाग्नेमात्र होइनन् आफ्नो उद्देश्य पूरा गर्ने काममा अवरोधक पनि हुन् । आफूले कुनै अनुचित वा अशिष्ट काम गरियो वा जंगलीपना देखाइयो भने त्यसको उपचार लाच पचाउनु नै हो ।”
लुसिएनको समयमा मान्छे आजको जस्तो धेरै बाँच्दैन थिए । त्यसैले ती विचारकले सपनामा पनि सोच्न सकेनन् होला कि कुनै व्यक्तिले यस्तै क्रियाकलाप र बोलीलाई पचास वर्षसम्म निरन्तर लागु गर्न सक्नेछ । तथापि, यस्ता विचार र बोली सधैँका लागि दिगो अवश्य पनि हुँदैनन् । त्यसैले ट्रम्पको आत्मविश्वासको अन्त्य पनि अब आउने आर्थिक मन्दीसँग जोडिएको हुनसक्छ ।
आर्थिक मन्दीको समयमा सर्वसाधारण जिन्दगीको भागदौडबाट अलि पछि हट्छन् र आफ्नो सोचमा पुनर्विचार गर्ने गर्छन् । उपभोक्ता कम खर्च गर्ने मनस्थितिमा हुन्छन्, टार्न सकिने उपभोग्य वस्तुमा सकभर पैसा खर्च गर्दैनन्, जस्तो ः नयाँ मोटर, घरको मर्मत र घुमफिर । व्यवसायीले पनि नयाँ कारखाना वा उपकरणमा खर्च गर्दैनन्, कामदारको नियुक्तिसमेत पछि सार्छन् । यसका लागि मान्छेले खासै ठूलो कारण दिइराख्नु पनि पर्दैन । उनीहरूको ब्रह्मले देखेको कुरा नै यस्तो व्यवहार गर्न प्रशस्त हुन्छ ।
अहिलेसम्म आफ्नो चमकदमकले गर्दा ट्रम्प धेरै उपभोक्ता तथा लगानीकर्ताका लागि सशक्त उत्प्रेरक बनेका छन् । सन् २००९ मा बाराक ओबामाले शासन समालेपछि ठूलो मंदीको मारबाट बाहिर निस्केको अमेरिकी अर्थतन्त्र सुधारको बाटोमा सशक्त देखिएको छ । सन् १८५० यता आर्थिक समुन्नतिको यो गति अहिलेसम्मकै सबैभन्दा लामो बन्न पुगेको छ । अन्ततोगत्वा एउटा सशक्त संकथन अमेरिकी अर्थतन्त्रको यस शक्तिको एउटा कारक बनेको छ ।
परन्तु, उत्प्रेरक विचारकहरू अन्ततः आफैँले उत्प्रेरणा जगाएको शिष्यबाट घृणित बन्न पुग्छन् । ट्रम्प विश्वविद्यालयको उदाहरणले पनि यो विषय बुझाउन मद्दत गर्छ । यो नाम भएको व्यक्तिले सन् २००५ मा स्थापना गरेको धोखेबाज संस्था धेरै मुद्दा र मामिलामा फँसेर आधा दशकभित्रै बन्द पनि भयो । अथवा, कम्युनिस्ट विरोधी विचारलाई बढी नै अतिरंजित बनाएपछि अमेरिकी सिनेटर जो म्याककार्थीको सन् १९५४ मा भएको राजनीतिक अवसानकै उदाहरण हेरौँ ।
ट्रम्पको राष्ट्रपतीय कार्यकाल व्यवस्थापनमा जथाभावी लिइने निर्णयको ठूलो प्रभाव देखिन्छ । यसले गर्दा यसै हुन्छ भन्ने भविष्यवाणी गर्न सकिन्न । उनी जनतालाई प्रभावित पार्ने आफ्नो बोलीमा अडिने कुरामा विश्वस्त हुन सकिन्छ, किनभने यसले उनलाई लामै समयदेखि सहयोग गर्दै आएको छ । तर, एक चर्को मन्दी उनको समाप्तिको कारण हुनसक्छ । त्यसपश्चात आर्थिक प्रलय सुरु हुनुअघि उनको बोलीको जादू समाप्त हुनेछ । जनताले उनको भ्रमपूर्ण कुरामा बल्ल ध्यान दिनेछन् र उनको अहिलेसम्म चलेको बोलीलाई विपरीत प्रकारको कथनले निमिट्यान्न पार्नेछ ।
रोबर्ट जे. शिलर एल विश्व विद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । उनको ‘कथन’ अर्थशास्त्रसम्बन्धीमा पुस्तक चाँडैनै आउँदै छ ।