वीरगंजको जिएचपी स्कुलको होस्टलबाट १३ वर्षीय विद्यार्थी बेपत्ता, तीन दिनसम्म पनि फेला परेनन्
वीरगंज संजाल
१५ भाद्र २०७६, आईतवार १७:०५
२९९३
वीरगन्ज। वीरगंजको पावर हाउसनजिक रहेको जिएचपी स्कुलको होस्टलबाट एक जना विद्यार्थी हराएका छन्। गत बिहीवार अपरान्ह ३ बजेपछि जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया हराएको उनका अभिभावकले बताएका छन्।
स्कुलको होस्टलबाटै छोरा हराएपछि अमितका अभिभावक अहिले चिन्तित बनेका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीका अमितको परिवार हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा बस्दै आएको छ। अमितलाई गत वैशाखदेखि स्कुलको होस्टलमा मासिक ९ हजार रुपैयाँ शुल्क तिर्ने गरी भर्ना गरिएको थियो।
‘महिनाको हजारौं रुपैयाँ शुल्क तिरेर बच्चा राखिन्छ, बच्चा कुन बेला कहाँ गयो, उसको सुरक्षाको पूरै जिम्मेवारी स्कुल प्रशासनको हो’ अमितका बुवा सोनालाल प्रसाद चौरसियाले भने, ‘स्कुलबाट बच्चा गायब हुनुमा सुरक्षागार्डदेखि स्कुल सञ्चालकहरुको पनि लापरवाही छ। मेरो छोरो सकुशल भेटिनु पर्छ।’
घटनाको भोलिपल्ट अमितको परिवारले स्कुलबाट छोरा हराएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सामा गराउँदै खोजीको लागि निवेदन दिएका छन्। पर्सा प्रहरीमा उजुरी गर्दा पनि बिहीवारदेखि बेपत्ता भएको आफ्नो छोराको बारेमा हालसम्म कुनै ठोस नतिजा आउन नसकेको पनि परिवारले आरोप लगाएको छ। विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल रमिन्दर कौरले घटनाबारे स्कुल प्रशासन दुःखित रहेको बताइन्।
‘हामी पनि दुःखित छौं, कसरी घटना भयो, मलाई पनि थाहा छैन। सिसिटिभीमा हेर्दा अपरान्ह ३ बजेर ७ मिनेटमा विद्यार्थीको छुट्टी हुँदा दुई जना विद्यार्थीको पछिपछि लागेर अमित पनि बाहिर निस्केको छ’ उनले दाबी गरिन्, ‘बच्चा खोजीको लागि हामी पनि परिवारसँग समन्वय गर्दै लागि परेका छौं।’
प्रिन्सिपल रमिन्दर कौरले सुरक्षागार्डको लापारवाहीले अमित बेपत्ता भएको पनि स्वीकार गरिन्। ‘छुट्टीको बेला १५ सय जति विद्यार्थी एकैचोटी निस्कन्छन्, त्यसमा गार्डहरुलाई पनि समस्या पर्छ’ प्रिन्सिपल कौरले भनिन्, ‘त्यसकारण उक्त बच्चामाथि निगरानी गर्न सकिएन।’
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको बताए। ‘हामीले स्कुल प्रशासनसँग पनि बुझेका छौं, आफूमातहत सबै प्रहरी युनिटलाई पनि खबर गरेका छौं’ उनले भने, ‘जुन विद्यार्थीको पछिपछि लागेर अमित स्कुलबाट निस्केको छ, ती विद्यार्थीलाई आज बोलाएका छौं। अनुसन्धान जारी छ।’ pahilopost.comबाट