बीबीसी । केही दशक अघिको तुलनामा मानिसहरु अहिले धेरै समय बाँचिरहेका छन् । सन् १९५० मा मात्र विश्वव्यापी औसत आयु ४६ वर्ष थियो भने २०१५ मा ७१ भन्दा माथि पुगिसकेको छ । केही राष्ट्रहरुमा रोग, माहामारी र अप्रत्याशित घटनाका कारण सो नतिजा प्राप्त गर्न सहज थिएन । तर पनि आतङ्क, युद्ध, प्राकृतिक प्रकोप जस्ता कारणले विश्वका केबल ०.५ प्रतिशत मानिसले मात्र ज्यान गुमाएका छन् ।
यसरी रोकथाम गर्न सकिने कारकहरु नै अधिकांश मृत्युको कारण बन्ने गरेको पाइएको छ । विशेषगरी युवाहरुको असामयिक मृत्यु पछाडिका कारणहरु समयसँगै परिवर्तन भइरहेको पाइएको हो ।
२०१७ मा मात्र विश्वभरबाट ५ करोड ६० लाख मानिसको मृत्यु भएको तथ्याङ्क रहेको छ जुन १९९० भन्दा १ करोड धेरै हो ।
यसरी विश्वव्यापी जनसङ्ख्या वृद्धि हुने क्रममा मानिसहरुको औसत आयु बढिरहेको छ तापनि ७० प्रतिशत मानिसहरु रोकथाम गर्न सकिने गैर–संक्रमक र दिर्घकालीन रोगका कारण मृत्यु हुने गरेको पाइएको छ । यी रोगहरु एक व्यक्तिबाट अर्कोमा सर्दैन र विस्तारै गति लिने गर्दछ । यसरी विशेषगरी मुटु सम्बन्धी रोगले विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिने गरेको पाइएको छ । विश्वमा ३२.३ प्रतिशत मृत्युको कारण मुटु सम्बन्धी रोग रहेको छ, अर्थात यसले तीन मध्ये एकको ज्यान लिइरहेको छ ।
यसपछिको दोस्रो ठूलो कारण क्यान्सर हो । क्यान्सरले विश्वभर १६.३ प्रतिशतको ज्यान लिने गरेको २०१६ को तथ्याङ्कले देखाएको छ । यसपछि मधुमेह, स्वास प्रस्वास, मानसिक बिमारी लगायतका गैर–संक्रमक रोगहरु पनि मृत्युको प्रमुख कारण रहँदै आएका छन् ।
तर अहिलेको प्राविधिक युगमा समेत रोकथाम गर्न सकिने साधारण रोगकले धेरै मानिसको ज्यान लिने गरेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।
जस्तै २०१७ मा १६ लाख मानिसको झाडापखालासँग सम्बन्धित कारणले मृत्यु भएको थियो । केही देशहरुमा यस्तै रोकथाम गर्न सकिने सामान्य बिमारी नै खतरनाक साबित हुने गरेको छ ।
त्यसैगरी २०१७ मा जन्मेको २८ दिन भित्र मृत्यु हुने शिशुको सङ्ख्या पनि १८ लाख पुगेको हो । तर देशहरु यसबाट छुट्टाछुट्टै किसिमले प्रभावित छन् । जस्तै विश्वका अति गरिब देशमध्ये एकको तुलनामा पनि जापानमा १ हजार भन्दा कम शिशुको मृत्यु हुने गरेको छ । तर सडक दुर्घटनाका कारण हुने मृत्युको सङ्ख्या भने धनी गरिब सबै देशमा उत्तिकै रहेको पाइएको छ जसले २०१७ मा १२ लाख मानिसको ज्यान लिएको छ ।
यसरी केही दशक अघिदेखि उच्च आयदर भएका राष्ट्र सडक दुर्घटनालाई केही कम गर्न सफल भएपनि विश्वव्यापी रुपमा यसको दरमा कुनै ठूलो बदलाव देखिएको छैन । त्यसैगरी हत्याबाट भन्दा दुई गुना मानिसहरु आत्महत्याका कारण मर्ने गरेको पनि पाइएको छ । यसरी देशमा विकासको गति बढेसँगै मृत्युका प्रमुख कारणहरु पनि परिवर्तन हुने गरेका छन् । विगतमा संक्रमक रोगले आजको तुलनामा ठूलो भूमिका निर्वाह गर्ने गर्दथ्यो ।
जस्तै १९९० मा तीन मध्ये एक व्यक्तिको मृत्यु संक्रमक रोगका कारण हुने गर्दथ्यो भने २०१७ मा पाँच मध्ये एक पुगेको छ । विशेषगरी बालबालिकाहरु संक्रमक रोगबाट बढी संवेदनशील हुन्छन् । यस्तोमा १९ औँ शताब्दी सम्म पनि विश्वका प्रत्येक तीन बालकको पाँच वर्ष अगावै मृत्यु हुने गरेको थियो । तर चिकित्सा क्षेत्रको विकाससँगै निर्माण भएका खोप, सरसफाइमा सुधार, पर्याप्त पोषणयुक्त खानेकुरा, स्वास्थ्य सेवा र सफा खानेपानीको पहुँचले शिशु मृत्यु दरलाई धेरै कम गराइसकेको छ ।
धनी देशहरुमा शिशु मृत्यु दरलाई दुर्लभ मान्न थालिएको छ भने अविकसित क्षेत्रहरुमा पनि थोरै तर लगातार सुधार भइरहेको छ । तर यता वृद्धहरुमा गैर–संक्रमक रोगको दर भने धेरै बढिसकेको छ जसलाई चिन्ताजनक मानिएको हो ।