बुटवल : प्रदेश ५ का स्थानीय तहमा नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आक्रमण गर्न थालेपछि प्रहरीले जनप्रतिनिधि र गाडीको सुरक्षामा निगरानी बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिसंग नियमित सम्पर्कमा रही प्रहरीले सुरक्षा चुनौति र चन्दा आतंकका विषयमा जानकारी लिन थालेको हो। सरकारी नम्बर प्लेटका गाडी सकेसम्म नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरेको छ। विप्लप नेतृत्वको नेकपाले पछिल्लो छ महिनामा प्रदेश ५ मा ६ वटा सरकारी गाडी, सांसदको घर र वडा कार्यालयमा आगजनी र बम आक्रमण गरेको छ।
प्रदेश प्रहरी प्रमुख सुरेन्द्रविक्रम शाहले जनप्रतिनिधि र साधनको सुरक्षामा प्रहरीले निगरानी राखेको बताए। ‘१२ वटै जिल्ला प्रहरी कार्यालयमार्फत नियमित रुपमा जनप्रतिनिधिसंग सुरक्षाको विषयमा कुराकानी भइराखेको छ’, उनले भने, ‘सरकारी गाडी सकेसम्म प्रहरी चौकी वा सुरक्षित स्थानमा राख्न आग्रह गरेका छौं।’
रुपन्देहीको सैनामैनामा शुक्रबार प्रदेशसभाका नेकपा सचेतक भुमिश्वर ढकालको घरमा तीन वटा बम आक्रमण भएको छ। यो दुई इलाका प्रहरी कार्यालयको ठीक बीचमा पर्ने स्थान हो। विप्लपका कार्यकर्ताले चन्दा नदिएको भन्दै आक्रमण गर्ने गरेका छन्। सांसद ढकालको घरमा भएको आक्रमणमा विप्लप समूहको हात रहेको इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक भीमलाल भट्टराईले बताए। घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरेको र अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। ‘तत्कालीन युद्धपछि क्यान्टोन्मेन्टमा नराखिएका हतियार अहिले प्रयोग भएको भेटेका छौं’, उनले भने, ‘यीसहित साना हतियार सुरक्षाका चुनौति बनेका छन्। तापनि विप्लपका गतिबिधि ठूलो चुनौति भने होइन।’anpurna post