वीरगंज । प्रतीक दैनिकको वार्षिकोत्सवमा प्रदान गरिने सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ । सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार खतिवडालाई दिने निर्णय भएको प्रतिष्ठानका सचिव प्रताप श्रेष्ठले बताए ।
रु २५ हजार राशिको यो पुरस्कार २०६५ सालदेखि निरन्तर फोटो पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रदान गरिंदै आएको छ । यसअघि यो पुरस्कारबाट राम सर्राफ, राम क्षत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनीष पौडेल, जीयालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य र पङ्कज श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।
यसैगरी, प्रतीक दैनिकले वार्षिकोत्सवको अवसरमा संवाददाता र स्तम्भकारलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष गौर, रौतहटका संवाददाता शैलेन्द्र झा र स्तम्भकार वीरेन्द्रप्रसाद यादवलाई पुरस्कृत गर्ने निर्णय भएको छ । प्रतीक दैनिकको ३३औं वार्षिकोत्सवको अवसरमा भदौ १ गते आइतवार नेपाल पत्रकार महासङघ, पर्सा शाखाको सभाहलमा पुरस्कार वितरण गरिने सचिव श्रेष्ठले बताए ।