सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते
वीरगंज संजाल
१० भाद्र २०७६, मंगलवार ०५:४१
७५९३
सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते भएको स्थानीयले बताए ।
हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
टाउकोमा चोट लागेर गम्भीर भएका दुवैजनालाई उपचारका लागि जनकपुर अन्चल अस्पतालमा पुर्याइएको छ । गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।
त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ । भेलामा छलफल सुरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ ।
प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए ।