नारायणी अस्पतालमा प्रसूति हुन आउने भारतीयको सङ्ख्या बढ्यो
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार ०२:०८
५५९१
वीरगंज|नारायणी अस्पतालमा सुत्केरी हुन भारतबाट ठूलो सङ्ख्यामा महिलाहरू आउने गरेका छन् । कुनै बेला रक्सौलस्थित मिशन अस्पताल डङ्कनमा वीरगंज आसपासबाट मानिसहरू सुत्केरी हुन जाने गरेकोमा अहिले रक्सौललगायत क्षेत्रबाट नारायणी अस्पतालमा सुत्केरी हुन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै छ । रक्सौल, सहदेवा–महादेवा, छौडादानो, रामगढवा, सुगौली, बेतियासमेतबाट सुत्केरी हुन नारायणी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ
रक्सौलस्थित सरकारी अस्पतालको सेवा प्रभावकारी नभएको र मिशन अस्पताल डङ्कनमा सुत्केरी हँुदा निम्न र मध्यमवर्गीय परिवारले धान्नेभन्दा बढी रकम लाग्ने गरेको कारण यी वर्गका भारतीयहरू अहिले नारायणी अस्पतालमा आएर सुत्केरी हुने गरेको पाइएको छ । नेपाल सरकारले सुत्केरीका लागि ओपिडीमा चारपटक दुई–दुई सयका दरले सवारी खर्च उपलब्ध गराउने र सुत्केरी हुँदा अप्रेशनसम्मको सम्पूर्ण खर्च औषधिसमेत बेहोर्ने गरेकोले अहिले नारायणी अस्पतालमा भारतीय महिलाहरू सुत्केरी हुन आउने क्रम बढेको हो ।
नारायणी अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष ७३ सयको हाराहारीमा महिलाहरू सुत्केरी भएका थिए भने अहिले साउन महीनामा मात्र ९ सय ५० जना सुत्केरी भएका छन् । गत वर्ष प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक खर्च उपलब्ध गराउँदा यो शीर्षकमा रकम पठाउन निकै ढिलो गरेको थियो । पुस महीनामा प्रदेश सरकारले रकम पठाएको र गत वर्ष थुपै्र सुत्केरीहरू सरकारी सुविधा लिनबाट वञ्चित भएका थिए ।
अस्पतालले अपरेशन र औषधि निश्शुल्क गरेपनि उनीहरूले पाउने ओपिडीबापतको रु ४ सय र सुत्केरी भएपछि पाउने रु १ हजार पाउन सकेका थिएनन् । नारायणी अस्पताल यस वर्षदेखि केन्द्रीय अस्पतालमा परिणत भएपछि यसको बजेट नेपाल सरकारबाट पुनः आउने भएको छ ।
यसपटक साउन महीनासम्म बजेट नआएपछि भदौमा बजेट आउने सम्भावना छ । गत वर्ष ढिलो बजेट आएको कारण ६ हजार २८६ जनाले मात्र सुत्केरी भत्ता बुझेका थिए । साउन महीनामा मात्र ९५१ जना सुत्केरी भएको तथ्याङ्क छ ।