वीरगंज । बीरगन्ज कलेजले स्वागत तथा क्षमता अभिवृद्धि सम्बन्धी २ दिने प्रशिक्षणको आयोजना गरेको छ । बीरगन्जको होटेल भिस्वामा कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत सँगै उनीहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व विकासका लागि प्रशिक्षणको आयोजना गरेको हो । कलेजका सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका छन् ।
स्वागत तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले शिक्षामा सुदृढीकरण गर्नुपर्नेमा जोड दिए । शैक्षिक प्रणालीमा सुधार गर्नका लागि निजी कलेजहरुसँग महानगरले विशेष योजना बनाएर कार्यन्वयन गर्नुपर्ने सिंहको भनाई छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि शिक्षासँगै व्यावहारिक ज्ञान अपरिहार्य रहेको हुँदा अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञानमा जोड दिन उनले आग्रह गरेका छन् ।कार्यक्रममा क्याम्पस प्रमुख बिनोद कुमार गुप्ताले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
पहिलो दिनको उद्घाटन कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, बीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरी गौतम, बैंक अफ काठमाण्डौका प्रबन्धक सुरेश यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्याब्सन बीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसिया, गौतम माविका प्रबन्ध निर्देशक सोनम लामा लगायतको उपस्थिती रहेको थियो ।