वीरगंज । शेयर बजारका लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २४ गतेसम्म सरकारलाई ७१ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८९.७५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा सरकारलाई लगानीकर्ताहरुले ७ अर्ब रुपैयाँ बराबरको पुँजीगत लाभकर दिएका थिए ।
सिडीएससी क्लियरिङ लिमिटेडका अनुसार गत आवको सोही अवधिको तुलनामा यस अवधिमा ८९.७५ प्रतिशतले पुँजीगत लाभकर घटेको हो । चालु आवमा भने शेयर बजारमा आएको उतारचढावसँगै पुँजीगत लाभकर पनि घट्दै गएको सिडीएससी क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा सरकारले शेयर बजारबाट ७१ करोड ५८ लाख ५१ हजार रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । शेयर बजार घटेसँगै पूँजीगत लाभमा त्यसको असर परेको उनले बताए । कारोबारभन्दा इन्डेक्सको आधारमा पुँजीगत लाभकर संकलन हुने उनले बताए । चालु आवको साउनदेखि कात्तिक २४ गतेसम्म शेयरबजार ११७.६९ अंकले घटेको छ । साउन १ गतेसम्म २ हजार ११ दशमलव ३९ बिन्दुमा पुगेको शेयर बजार कात्तिक २४ गतेसम्म आइपुग्दा ११७.७० अंकले घटेर १ हजार ८ सय ९३ दशमलव ७० बिन्दुमा आइपुगेको छ ।