जनकपुर । माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । तिहार नजिकिँदै गर्दा घर लिपपोत गर्न माटो लिन गएकी धनगढीमाई नगरपालिका ५ जयपुरका प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्माकुमारी कामैतको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
गाउँदेखि दुई सय मिटरको दूरीमा रहेको माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा उनको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले उद्धारको प्रयास गरे पनि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
ढिस्कोमा परी ममतादेवी कामैत, सात वर्षीया सरिता महतो, सात वर्षीया सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र १० वर्षीया रुवि कामैत घाइते भएका कार्यालयका सूचना अधिकारी डिएसपी सुभाष बुढाथोकीले बताए ।
ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।