पर्सा ।श्रुति साह । सशस्त्र प्रहरी बल नेपाल, नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडस्थित सीमावर्ती क्षेत्रमा भारतबाट अबैध रूपमा पैठारी गरी ल्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।
टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याइँदै गरेका २४ वटा कार्टुनमा राखिएको २४०० गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो। ती चल्ला नेपालमा पैठारी गर्न निषेध गरिएको प्रकारका भएकोले आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
यस अवैध पैठारीमा संलग्न व्यक्तिका रूपमा पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–२, जानकी टोल निवासी ४५ वर्षीय नवि देवानलाई पक्राउ गरिएको छ। साथै उक्त मोटरसाइकललाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षासम्बन्धी निगरानी कडा बनाउँदै अवैध तस्करी तथा निषेधित वस्तुहरुको ओसारपसारमा संलग्नहरूमाथि कडा निगरानी गरिरहेको जनाएको छ।