वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई स्रोत नखुलेको ६ लाख ५ हजारभन्दा बढी नगद रकमसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले आइतबार दिउँसो साढे ३ बजेतिर वीरगञ्ज महानगरपालिका-१६ भन्सार कार्यालयको मेनगेटमा जाँच गर्ने क्रममा भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पञ्चायत-१ भलुवाहा बस्ने ३८ वर्षीय विश्वेश्वर यादवले लुकाई छिपाई ल्याइरहेको ६ लाख ५ हजार १ सय ८५ रुपैयाँ बरामद गरेको हो ।
बरामद भएको मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ र एक थान मोबाइलको मूल्य २५ हजार रुपैयाँसहित जम्मा मूल्य ८ लाख ३० हजार १ सय ८५ रुपैयाँ बराबरको धनमाल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।