वीरगञ्ज | वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरुले क्याम्पस प्रशासनको निर्णयविरुद्ध आन्दोलन थालेका छन्। उनीहरूको मुख्य आरोप क्याम्पस प्रशासनले व्यक्तिगत पूर्वाग्रहका आधारमा कर्मचारीको सरुवा गरिरहेको छ। त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, ठाकुरराम इकाइका अनुसार क्याम्पस प्रशासनले सरुवा हुनुपर्ने कर्मचारीलाई सरुवा नगरी, एकै व्यक्तिलाई बारम्बार स्थानान्तरण गरेको छ।
कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीका अनुसार, बुधन मुखिया नामक कर्मचारीलाई पटक-पटक विभिन्न शाखामा स्थानान्तरण गरिएको छ, जुन अन्यायपूर्ण भएको उनीहरुको दाबी छ। यसरी हालै उनलाई सिराहा क्याम्पसमा सरुवा गरियो, र यस विरोधमा आन्दोलन गरिएको छ।
आन्दोलित कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर र परीक्षा शाखा जस्ता कार्यालयहरुमा तालाबन्दी गरेका छन्। उनीहरुले सरुवा प्रक्रिया र निर्णयमा निष्पक्षता नभएको बताएका छन्। कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाले भने, “क्याम्पसमा कर्मचारीको अभाव हुनुका बाबजुद सिराहा क्याम्पसमा सरुवा गर्नु उचित छैन” भन्दै तत्काल सरुवा फिर्ता गर्न माग गरेका छन्।
पछिल्लो जानकारी अनुसार, क्याम्पस प्रमुख रञ्जीत यादवसँग सम्पर्क गर्न प्रयास गर्दा उनका मोबाइलमा आगमन कल रोकिएको थियो। कर्मचारीहरुले क्याम्पस प्रशासनसँग सरुवा प्रक्रिया पुनरावलोकन गर्न र निर्णय सच्याउन चेतावनी दिएका छन्। यस आन्दोलनले क्याम्पसको प्रशासनिक कामकाज ठप्प बनाएको छ।