रक्सौल । पूर्वी चम्पारण प्रहरीले लागूऔषध विरुद्ध अभियान सञ्चालन गरिरहेको छ। यही क्रममा रक्सौलस्थित एक नेपाली ट्रकबाट प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ। कस्टम क्लियरेन्सको क्रममा रक्सौल आईसीपीमा उक्त लागूऔषध बरामद भएको हो। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिँदै चालकलाई पक्राउ गरेको छ।
पक्राउ परेका चालक रक्सौलको वार्ड नम्बर १६ परेउवाका फिरोज आलम रहेको पहिचान खुलेको छ। पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातले प्रेस नोट जारी गर्दै हरैया थानाको प्रहरी टोली र एसएसबीले संयुक्त रूपमा ट्रकबाट ६४२ बोतल ओनरेकस कफ सिरप (प्रत्येक १०० एमएल) बरामद गरेको जानकारी दिए। बरामद सिरपको बजार मूल्य १ लाख ५ हजार ९३० रुपैयाँ रहेको छ।
यसैगरी, रक्सौल आरपीएफ र जीआरपीको संयुक्त टोलीले पनि लागूऔषध बरामद गरेको छ। रक्सौल स्टेशनको प्लेटफर्म नम्बर १ नजिकको ओभरब्रिजमा गरिएको जाँचका क्रममा दुई व्यक्तिबाट ५५ थान प्रतिबन्धित कफ सिरप बरामद गरिएको हो। आरपीएफ पोस्टका कमाण्डर ऋतुराज कश्यपका अनुसार ती दुई व्यक्तिलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ। पक्राउ परेकाहरू हरैया थानाका सरोज मियाँ र अजिन्द्रनाथ मजूमदार रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, डीएसपी धिरेन्द्र कुमारको नेतृत्वमा आदापुर थानाअन्तर्गतको श्यामपुर चौकको रेल्वे ढलाबाट ३ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। पक्राउ परेकाहरू आदापुरका विष्णुपुरवा निवासी संजीत कुमार सिंह र ओम बाबु कुमार रहेको जनाइएको छ।
भारत-नेपाल सीमावर्ती क्षेत्रमा लागुऔषध र लागूऔषधजन्य पदार्थको तस्करी तीव्र रूपमा भइरहेको छ। पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातको नेतृत्वमा लागूऔषध नियन्त्रण र तस्करीविरुद्ध व्यापक अभियान सञ्चालन भइरहेको छ।