वीरगञ्ज । वीरगञ्जमा आस्थाको केन्द्रबिन्दु तथा शक्तिपीठको रूपमा रहेको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिको आयोजनामा गरिएको उक्त रथयात्रामा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहसहित विभिन्न स्थानका भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। रथयात्रा वीरगञ्जका विभिन्न स्थान तथा धार्मिक स्थलहरूको परिक्रमा गरी अन्ततः गहवामाई मन्दिर परिसरमा पुगेर सम्पन्न भएको हो।
आयोजक समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार गहवामाईप्रतिको आस्था र श्रद्धा हरेक वर्ष बढ्दो क्रममा रहेको छ। “यसपालिको रथयात्रामा अन्य वर्षको तुलनामा भक्तजनहरूको उत्साहजनक उपस्थिति देखिएको छ,” अध्यक्ष पोखरेलले बताउनुभयो।
समितिले हरेक वर्षझैँ यस वर्ष पनि शनिबार महाप्रसाद तथा महाभोजको आयोजना गर्ने तयारी गरिरहेको छ। उक्त महाभोजमा करिब १ लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ।