वीरगञ्ज । मकवानपुरको मनहरी बजारबाट झन्डै १० किलो लागूऔषध गाँजासहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी गाउँपालिका–७ स्थित बजार क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न रहेकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याके निवासी ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकी ५० वर्षीय पत्नी राममाया मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार, नियमित गस्तीका क्रममा उनीहरू शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गरिएको थियो । जाँचका क्रममा झोलाभित्र लुकाएर राखिएको ९ किलो ८५० ग्राम गाँजा बरामद गरिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेका दम्पतीविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।