वीरगंज । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तयारी तीव्र पारिएको छ । त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको विवाहको स्मरणमा यही मंसिर ७ गतेदेखि सुरु हुने रामजानकी विवाह पञ्चमीको तयारी सुरु भएको हो । जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामजानकी विवाह पञ्चमीलाई भव्य रुपमा मनाउने तयारी गरिएको जानकारी दिए । अतिथि आमन्त्रण तथा भारतबाट जयन्तीलाई निम्त्याउने कार्य भइरहेको सहायक महन्थ दासले बताए । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग पनि उनले छलफल जारी रहेको बताउँदै सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई आग्रह गरिएको बताए ।
मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आइएको छ । महोत्सव अन्तर्गत मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला, तेस्रो दिन ९ गते धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ । हिन्दूहरुको आस्थासित जोडिएको भगवान सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने भएका छन् ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन सन्त सतपाल महाराज जनकपुरधाम आउने : यस वर्ष विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराज मंसिर १२ गते जनकपुरधाम आउने भएका छन् । उत्तराखण्ड सरकारमा सतपाल महाराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने छ ।