वीरगंज । नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पछिल्लो पटक २९ मार्च २०२१ मा दशरथ रंगशालामा थ्रि नेसन्सकपमा एक अर्काविरुद्ध भिडेका यी दुई टिम ५ सय ४७ दिनपछि दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। नेपाल र बंगलादेशबीच पछिल्लो पटक भने साफ च्याम्पियनसिपको दौरान १३ अक्टोबर २०२१ मा नेसनल स्टेडियम मालेमा प्रतिस्पर्धा भएको थियो। जहाँ नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए। त्यसअघि दशरथ रंगशालामा भएको थ्रि नेसन्सकपको फाइनलमा भने नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो।
मंगलबार दशरथ रंगशालामा दुवै देश एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दा एक अर्को जित आफ्नो पक्षमा पार्न चाहान्छन्। पछिल्ला तीन खेलमा तुलनात्मक रूपमा बलियो देखिएको नेपालविरुद्ध बंगलादेश आफ्नो पुरानो विरासत फर्काउने प्रयासमा हुनेछ। खेलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले पूर्णरूपमा जित्नका लागि मैदानमा उत्रने दाबी गरेका थिए। त्यसैलेपनि नेपाल र बंगलादेशबीचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ। बंगलादेश नेपालसँगको खेलअघि फिफा वरियतामा आफूभन्दा माथि रहेको कम्बोडियालाई १-० ले पराजित गर्न सफल भएकाले सोही लय नेपालविरुद्ध पनि देखाउन चाहन्छ। तर घरेलु मैदानमा नेपाली दर्शकसामु नेपाली टिम बंगलादेशविरुद्धको पछिल्लो दबदबालाई कायम राख्न प्रयास गर्नेछ।
हेड टु हेडमा बंगलादेश अघि
बंगलादेश र नेपालबीच पहिलो पटक १९८३ को २२ सेप्टेम्बरमा पिहलो पटक प्रतिस्पर्धा भएको थियो। जतिबेला नेपाल १-० ले पराजित भयो। त्यसयता यी दुई टिमबीच कुल २३ भिडान्त भएका छन्। जसमा बंगलादेशले १३ खेलमा जित निकाल्दा नेपालले ७ खेलमा बंगलादेशलाई हराएको छ। ३ खेल भने बराबरीमा सकिएको छ। तर पछिल्ला ६ भिडन्तमा भने बंगलादेशविरुद्ध नेपाल हावि हुँदै आएको छ। नेपालले ३ खेलमा जित निकाल्दा बंगलादेशले १ खेलमा मात्र जित निकालेको छ। बाँकी दुई खेल बराबरीमा सकिएको थियो। त्यसैले मंगलबार दशरथ रंगशालामा हुने खेल दुई देशका लागिनै अर्थपूर्ण रहेको छ।