वीरगंज । बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का विभिन्न स्थानमा गएको दुई महिनायता चितुवाले आतंक मच्चाउन थालेको छ । जंगलबाट ४–५ वटा चितुवा एकैचोटि आएर घरपालुवा पशु खाने गरेको स्थानीय तेजन बोहराले बताए । चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी पशुचौपाया खाइसकेको स्थानीयहरुले बताएका छन् । रातिको समयमा गोठमा बाँधेका पशुरुलाई आक्रमण गरेर चितुवाले खाने गरेको बोहराले बताए ।
चार–पाँचवटा चितुवा सँगै आउने गरेकाले स्थानीयहरु पनि त्रसित भएका छन् । स्थानीय किसानले पालेका बाख्रा र खसी चितुवाले खान थालेपछि किसान चिन्तित बनेका हुन् ।
दिनदिनै चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि किसानहरु मर्कामा परेका छन् । वडाको मल्लोढोले, सेलालगायतका क्षेत्रमा चितुवाले आतंक मच्चाएको सुर्नया गाउँपालिका वडा नं ८ का वडाध्यक्ष भानबहादुर बोहराले बताए ।
चितुवाको आतंक नियन्त्रणका विषयमा डिभिजन वन कार्यालयसँग छलफल गरिएको भए पनि समाधानका लागि अझै पनि डिभिजन वन कार्यालय बैतडीले कुनै पहल थालेको छैन ।
वनजंगल फडानी भएपछि जंगली जनावरहरु मानवबस्तीमा पस्ने गरेको विज्ञहरुले बताएका छन् । बैतडी जिल्लाको तल्लो स्वराड, ढुंगाड, सुर्नया, पुर्चौडीलगायतका क्षेत्रमा चितुवाले बर्सेनि ठूलो क्षति गर्ने गरेको छ । गत वर्ष मात्रै बैतडीमा चितुवाको आक्रमणबाट ५ जनाले ज्यान गुमाएका थिए ।