वीरगंज । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्छ।
गएरातिदेखिको झरी अझै रोकिएको छैन । भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उहाँले जानकारी दिनुभयो । हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ । विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ ।
यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगञ्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ । एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ । यसैबीच, लगातारको झरीले बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सो क्षेत्र भएर बहने साना नदीमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बुधबार बेलुकासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।