बिरगंज । वीरगंज महानगरपालिका वडा नं. ३ मा रहेको ठाकुरराम क्याम्पससँग जोडिएको प्रगति नगरको महानगरपालिका आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश ठाकुरले सेटिङ्गको भरमा ९ जना शिक्षकदेखि बालविकास केन्द्रका कर्मचारीहरुलाई नक्कली कागजातको भरमा भर्ना गरेको तथ्य खुल्न आएको छ । प्रअ ठाकुरले प्राविका ६ जना शिक्षक र बालविकास केन्द्रका ३ जना शिक्षिका भर्ना गरेको खुलासा भएको हो ।
प्रअ ठाकुरले अहिले सो विद्यालयका ९ जना कर्मचारीहरुको एक वर्षदेखि तलब नदिई यतिकै खटाइरहेपछि आफुहरुले तलब पाउनुपर्ने माग गर्दै शिक्षकहरुले कानूनी उपचार खोज्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । पीडित शिक्षक र बालविकास केन्द्रका कर्मचारीहरुसँग समेत २ लाख ५० हजार देखि ३ लाखसम्म घुस मागेका हुँदा ती महिला शिक्षिकाहरुले आफ्नो गरगहना बन्धकी राखेर प्रअ ठाकुरलाई घुसको रकम दिएको रहस्य खोलेका छन् ।
प्रअ ठाकुरले उक्त घुसको रकम आप्mनो छोरीको विवाहमा लिएका थप रहस्य सार्वजनिक भएपछि उनी हाल इन्तु न चिन्तुको अवस्थामा पुगेका छन् ।
शिक्षकहरुले पटक–पटक तलब माग गर्दा उनीहरुको नामको खाली चेकमा हस्ताक्षर गर्न लगाउने र सो रकम आफै र आफ्ना नातागोताको नामबाट झिक्ने गरेको समेत थाहा हुन आएको छ । प्रअ ठाकुरमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको आधारमा यो रहस्य बाहिरिन आएको हो ।
आफुहरुको अहिलेसम्मको तलब करिब १८ लाख भन्दा बढी रहेको पीडत पक्षले बताउदै यस्ता ठग प्रअलाई कानूनी दायरामा ल्याउनुपर्ने जोडदार माग समेत गरेका छन् ।
हाम्रो यति लामो समयसम्मको श्रमशोषण गर्नुका साथै तलब समेत नदिएको र नियुक्ति पत्रको लागि झगडा नै गर्नु परेको उनीहरुको गुनासो रहेको छ । निकै ठुलो रस्साकस्सी पश्चात प्रअ ठाकुरले नियुक्तिपत्र दिएको उनीहरुले पीडा पोखेका छन् । बालविकासमा काम गर्ने कर्मचारीलाई सार्वजनिक बिदा समेत नदिने र रातको समयमा ८ बजेसम्म घरको खाना पकाउन लगाउने तथा गालीगलौज समेत प्रअले दिने गरेका ती पीडित कर्मचारीले आफ्नो दुखेसो पोखेका छन् ।
प्रअ ठाकुरले नियुक्ति गरेको समयको सम्पुर्ण कागजातहरु जलाएर नष्ट गर्नुका साथै अहिले कानूनी फन्दामा पर्ने डरले उक्त कागजातहरु राखेका दराज र कम्प्युटर समेत नष्ट गरेका उनीहरुले बताएका छन् । अहिले प्रअ ठाकुरलाई पक्राउ गरी कानूनी कारवाही गर्न पटक–पटक प्रशासनमा धाउदा समेत कुनै सुनुवाई नभएपछि सञ्चारमाध्यमबाट यो भ्रष्टाचारको भण्डाफोर गरेको पीडित शिक्षकहरुले बताएका छन । अहिले ती पीडित शिक्षक र कर्मचारीहरुले व्याजमा लिएको रकम तिर्न नसकेर घरमा रुवाबासी सुरु भइरहेकोले यस्ता ठग प्रअ ठाकुरलाई हदैसम्मको कारवाही हुनुपर्ने उनीहरुको माग रहेको छ । यस सम्बन्धमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले चुप्पी साधेको विषयले थप शंका उत्पन्न गरेको छ ।