वीरगञ्ज, ९ जेठ । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेका अनुसार शुक्रबारदेखि केन्द्रमा हरेक समूहको रगतको अभाव भएको हो । केन्द्रमा मौज्दाता रगत सकिँदा जटील र गम्भिर रोगका बिरामीको उपचारमा समस्या हुन् थालेको नारायणी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन बताए ।
वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको र मौज्दात रगत पूर्ण रुपले समाप्त भएको पाण्डेले जानकारी दिएका छन् । अहिले केन्द्रमा रगत माग गर्न आउनेहरुसँग सोधभर्ना वापत रगत लिएर रगत दिने काम भइरहेको पाण्डेले बताए । रक्तदान कार्यक्रम गर्ने सामाजिक संस्था र राजनीतिक दलहरु भएको र हाल स्थानीय तह निर्वाचनमा सबैजना व्यस्त हुँदा पछिल्लो एक महिनादेखि रक्तदान कार्यक्रमहरु आयोजनानै नभएको पाण्डेको भनाई छ ।
‘गर्मीमा यतिकै पनि रक्तदानका कार्यक्रमहरु कम हुन्छन त्यसमाथि बढी रक्तदान कार्यक्रमहरु आयोजना गर्ने सामाजिक संघ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यवस्त भएको कारण पछिल्लो एक महिनादेखि पर्सा र बारामा कुनैपनि ठूलो रक्दान कार्यक्रमनै भएको छैन,’ पाण्डेले यात्रा डेलीलाई भने, ‘केन्द्रमा रगत सिंचित गर्ने सबैभन्दा महत्वपूर्ण तरिकानै रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुनु स्वाभाविक हो ।’ पाण्डेले स्थानीय संघ संस्थाहरुसँग रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै केन्द्रमा पुगेर भएपनि रक्तदान गर्न आग्रह गरेका छन् ।