वीरगन्ज | चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।
यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।
यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । नेपालले इण्डोनेशिया, मलेसिया र सिंगापुर लगायतका देशबाट पाम तेल ल्याएर भारततर्फ पठाउँदै आएको छ ।