वीरगञ्ज । जिल्ला प्रशासन काठमाडौंले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । १ असोजदेखि लागू हुने निषेधाज्ञाका क्रममा शैक्षिक संस्थाहरू (विद्यालय) खोल्न नपाइने भएको छ । खोल्नैपर्ने भएमा विद्यालय सञ्चालनअघि आ–आफ्नो पालिकास्तरमा कोरोना संक्रमणको विश्लेषण, शिक्षक, कर्मचारी, सवारी चालक, सह–चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीले अनिवार्य कोभिड–१९ विरुद्ध खोप लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, अभिभावक र सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण र ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने जिल्ला प्रशासनको आदेशमा उल्लेख छ ।
सभा, जुलुस, जात्रा, महोत्सव र भोज गर्न नपाइने भएको छ । चाडपर्वहरू सांकेतिक रूपमा मात्र मनाउन पाइने भएको छ । स्थानीयस्तरको ढुवानी सेवा बिहान ९ देखि ११ र अपराह्न ४ देखि साँझ ७ बजेसम्म चलाउन पाइने भएको छ ।