वीरगंज | काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा बाझ्दै गर्दा तालिबानी शासन व्यवस्थाले जनतालाई आजभन्दा २० वर्ष अघिको होइन अहिलेकै शासन पद्धति लागू गर्ने पक्षमा देखिएका छन् । धेरैको अनुमान थियो तालिबान पुरानै अवस्थामा टिक्न सक्ने छैनन् । उनीहरूले आफूलाई समय सापेक्ष ढाल्नुपथ्र्याे । त्यही गरे तालिबानहरूले । तालिबानी शासन मूलतहः धार्मिक शासन भएकाले त्यो बदल्न निकै गाह्रो थियो । सरिया कानुनमा आधारित तालिबानी शासन व्यवस्थामा सबैभन्दा बढी पीडित महिला नै हुन्थे र हुँदै आएका छन् पनि । तर, तालिबानीहरूको २० वर्षपछि काबुल आगमनसँगै यिनीहरू फेरिँदो अवस्थामा जाँदै गरेका छन् । सबैले अनिवार्य बुर्का लगाउनैपर्ने, महिलाले पढ्नलेख्न नपाउने, सरकारी जागिर खान नपाउने र शासन व्यवस्थामा सहभागी हुन नपाउने जस्ता कडा प्रावधान तालिबानी शासनमा थिए । तर, अहिलेको तालिबानी सरकारले ती कडा प्रस्थापना र प्रावधानमा पुर्नविचार गर्ने भएका छन् ।
जसअनुसार महिलाले पढ्न पाउने तर, महिला र पुरुषहरूको विद्यालय भिन्दा भिन्दै हुनेगरी व्यवस्था गर्ने भएका छन् । त्यसै गरी सरकारमा महिला पनि सहभागी गराउने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तालिबानले आस्वस्थ गराउँदै आएका छन् । बदलिएको परिस्थितिअनुसार तालिबानी शासन व्यवस्था कायम हुन नसकेमा अन्तर्राष्ट्रिय समुदायसँग ढेलमेल हुन, सहकार्य गर्न र विभिन्न विषयमा सँगै अगाडि बढ्न स्वयं तालिबानलाई समस्या पर्न सक्थ्यो । यो समस्या महिला शिक्षा, महिला सहभागिता जस्ता महिलाप्रति उदार प्रस्थापनासहित तालिबानले आफूलाई समकालीन समयअनुसार परिमार्जित गर्दै गइरहेका देखिन्छन् । मुस्लिम धर्ममा आधारित तालिबानी शासन व्यवस्थामा हिन्दू धर्ममा आधारित जात प्रथा नदेखिए पनि त्यहाँ लैंगिक विभेद भने चरम अवस्थामा देखिन्छ । त्यो मूलतहः महिला शोषण र उत्पीडनमा आधारित देखिन्छ । यदि महिलालाई अधिकार सम्पन्न बनाउन तालिबानहरू सफल रहे भने उनीहरूको शासन सत्ता सन् २००१ मा जस्तो अन्तर्राष्ट्रिय शक्ति पसेर धपाउने अवस्थामा पुग्ने छैन । यस मामलामा तालिबानी सचेत रहेको देखिन्छ ।
त्यसैले, तालिबानहरू राष्ट्रिय रूपमा सापेक्ष महिलामैत्री शासन व्यवस्था अपनाउन र बाह्य रूपमा अन्तर्राष्ट्रिय संघसंथाहरूले राखेका र आशा गरेका विषयमा लचिलो बन्न सतर्कतापूर्वक अघि बढिरहेको देखिन्छ । पक्कै पनि तालिबानले बोध गरेको हुनुपर्छ कि सन् २००१ को जस्तो अवस्थामा छैन । योबीचमा उनीहरूले अमेरिका, चीनलगायतका धेरै शक्तिहरूसँग वार्ता गर्ने, कुराकानी गर्ने उनीहरूसँग अबको सत्तामा विदेशी स्वार्थ के छन्, स्वदेशी समस्या के छन् ? तिनका बारे बढी नै छलफल र बहस गरिसकेका छन् । यस अर्थमा तालिबान केही फेरिएका र धेरै कुराहरू परिमार्जनसहित नयाँ तरिकाले कार्यान्वयन गर्ने सोचमा पुगेका हुन सक्छन् । तालिबानलाई पुरानै आँखाले हेर्न नहुने, छिमेकी देश चीनको भनाइमा पनि धेरै कुरा अभिव्यक्त हुन पुगेका छन् । यिनै सबै कुरालाई मध्यनजर गरेर तालिबान बढी महिलामैत्री कार्यक्रम कार्यान्वयन गर्ने मनस्थितिमा पुगिरहेका छन् । विश्व परिवेशबाट एक्लिएर र एक्ल्याएर काबुलमा शासन सञ्चालन गर्न सकिने उनीहरूलाई पनि लागेको देखिँदैन ।