वीरगञ्ज । बाराको क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले २ तले विद्यालय भवनको उद्घाटन गरेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ शिस्वामहेसपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भवनको सांसद यादवले शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
सांसद यादवकै संसदिय विकास कोषको रकमबाट निर्मित विद्यालय भवनको उद्घाटन गर्दै सांसद यादवले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताए । गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको इंकित गर्दै सांसद यादवले शिक्षाका लागि भौतिक पूर्वाधारले महत्व राख्ने धारणा राखे । उनले अनुकुल वातावरण भए मात्रै विद्यार्थीहरुलाई अध्ययनमा मन लाग्ने हुँदा भवनसँगै अन्य भौतिक पूर्वाधारको पनि विकास गर्दै जाने दृढता व्यक्त गरे ।
विज्ञान र प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुका साथै व्यावहारिक एवम् रोजगारमुलक शिक्षालाई अंगाल्नुपर्नेमा उनको जोड थियो । सो विद्यालयमा हाल पशु प्राविधिक शिक्षा समेत सञ्चालित छ । आगामी दिनमा अन्य प्राविधिक शिक्षाका विषयहरु पनि सञ्चालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सांसद यादवको लक्ष्य छ ।
भवन उद्घाटनपश्चात यादवकै अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा नर्सिङ्, अहेब लगायतका अन्य प्राविधिक शिक्षा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा सांसद यादवसँगै विद्यालयका प्रधानाध्यापक राधेकृष्ण यादव, जनता समाजवादी पार्टी (जसपा) का नेता एवम् सांसद यादवका स्वकिय सचिव कमलेश मण्डल, स्थानीय नेता एवम् जनप्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।