वीरगञ्ज । वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड भएको छ ।जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुले हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो ।
अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।
‘अस्पताल ल्याएलगत्तै चिकित्सकले चेकजाँच पछि रमितालाई मृत घोषित गरेका थिए । परिवारका सदस्यहरुले शंका लागेर पुनः ल्याउनुभएछ । ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन ।