विराटनगर | प्रदेश १ मा एक वर्ष अवधिमा परिवारिक हत्याका ५५ वटा घटना भएका छन्। उक्त घटनामा ५६ जना मारिएका छन्। आर्थिक वर्ष २०७७/७८ मा भएका घटनामा ज्यान गुमाउने अधिकांश गृहिणी महिला छन्। पारिवारिक विवादमा ४६ महिला मारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राई बताउँछन्।
‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’, प्रवक्ता राई भन्छन्, ‘चार जना १८ वर्षमुनिका छन्।’
झापा गौरादह–१ मा उत्तिम ऋषिदेवको कुटपिटबाट अघिल्लो बिहीबार ४० वर्षीया संगीता टुडूको ज्यान गयो। झापाकै कमल–४ का ४३ वर्षीय नैनकुमार श्रेष्ठले जेठ २६ गते कुटपिट गरी श्रीमती ४१ वर्षीया विमला श्रेष्ठको हत्या गरेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाको भनाइ छ।
मोरङ बेलबारी–७ का ५४ वर्षीय अम्बिका घिमिरेले असार १९ गते मुंग्रोले कन्चटमा हानेर श्रीमती ४८ वर्षीया सीता घिमिरेको हत्या गरे। मोरङकै रंगेली–३ का १९ वर्षे विनोद यादवले बाम्फोक (दाउ)ले घाँटीमा हानेर भाउजू २४ वर्षीया अनिता यादवको जेठ ४ गते हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी बताउँछन्।
सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन्। एसपी राईका अनुसार झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच/पाँच, इलाम र उदयपुरमा चार/चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई/दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएका छन्। झापामा ११, सुनसरीमा १०, ताप्लेजुङमा पाँच, मोरङ र इलाममा चार/चार, उदयपुर, खोटाङ, पाँचथर र धनकुटामा दुई/दुई, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र भोजपुरमा एक/एक जना महिलाले ज्यान गुमाएको उनको भनाइ छ।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार एक वर्ष अवधिमा परिवारभित्र ८२ प्रतिशतभन्दा बढी महिलाको हत्या भएको छ। ‘अपराधको तथ्यांकले महिला आफ्नै घर र परिवारभित्र असुरक्षित बनिरहेको पुष्टि हुन्छ’, डीआईजी बीसी भन्छन्, ‘सामान्य पारिवारिक विवाद र अत्याचार अपराधमा परिणत हुँदा महिला हत्याको डरलाग्दो अवस्था उजागर भएको छ।’
समाजशास्त्री डिल्ली प्रसाईं पितृसतात्मक समाजबाट विकसित गलत सोचका कारण परिवारभित्रै हेर्ने नजर भिन्न भएर आपराधिक एवं विकृत मानसिकताको विकास हुँदा महिलाको ज्यान जोखिममा परिरहेको बताउँछन्। ‘हिंसाविरुद्ध महिलाहरू खुलेर बोल्न नसक्दा त्यसको फाइदा परिवारभित्र अरुले उठाउँछन्’, उनी भन्छन्, ‘अझ तराई क्षेत्रमा दाइजो प्रथा महिला हत्याको मुख्य कारण बन्ने गरेको छ।’ मनोविद् महेश खत्री जीवनलाई सहज ढंगले अपनाउन नसक्दा मान्छेले बाटो भुल्न थालेको बताउँछन्। परिवारभित्र महिलाको हत्या धेरै भएको घटनाले समाज र परिवारलाई सही बाटोमा हिँडाउन उत्तरदायित्व वहन गर्ने कार्यक्रम आवश्यक देखाएको खत्रीको भनाइ छ।