सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजना बालिकाको ज्यान गएको छ।ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको र उक्त घटनामा तीन जना घाइेते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले जानकारी दिए।
शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा ११ प २५ ८५ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव परमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी परमाणीको मृत्यु भएको हो।
सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल घाइते भएको प्रहरी प्रमुख धमलाले जानकारी दिए।यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरी चाँदनी चोकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो. अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ। सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएकी छिन्।
घाइतेहरुको ठेलियास्थित अस्पतालमा उपचार भइरहेको छ। यता मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै दुर्घटना लगत्तै स्थानीयहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्।