बिरगंज। धनुषाको मुखियापट्टी मुसहरनियास्थित पोखरीमा डुबेर शुक्रबार पाँच जना बालिकाको मृत्यु भयो।बाख्रा चराउन गएका बालिकाहरू पोखरीमा नुहाउन जाँदा डुबेर मृत्यु भएको थियो।मृत्यु हुनेमा १० देखि १३ वर्ष सम्मका बालिका थिए। मापदण्डविपरीत खनिएको पोखरीमा डिलसमेत थिएन।
गर्मी छल्न पोखरीमा हामफालेका पाँचै जनाको मृत्यु भयो।यस घटनामा धनुषा प्रहरीले छानबिनसमेत थालेको छ। प्रहरी उपरीक्षक प्रकाश रानाभाटले त्यो घटनामा पीडित परिवारबाट अहिलेसम्म कुनै निवेदन नपरेको बताए।उनले भने, ‘पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको घटनामा पीडित परिवारबाट कुनै निवेदन परेको छैन। तथापि, हामी अनुसन्धान गरिरहेका छौँ।’
पोखरी के प्रयोजनले खनिएको थियो। अहिलेसम्म पोखरी मालिक सम्पर्कमा नआएको रानाभाटले बताए।फागुन १६ गते सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु भएको थियो।जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोरका रमेश मोक्तानको १८ महिनाकी छोरी अनिसा मोक्तानको घरनजिकै रहेको पानी फ्याक्ट्रीको छेउमा रहेको पानी जमेको खाल्टोको डिलमा खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।
पछिल्लो समय धनुषामा मात्र नभई प्रदेशको सबै जिल्लामा पोखरी, तलाउ, खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकासहित कैयौँले ज्यान गुमाएका छन्।अवैध रूपमा भइरहेको उत्खनन, इँटा भट्टाको कारण बनेको खाल्डो तथा नदीमा डुबेर सयौँले ज्यान गुमाएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
चालु वर्षको ११ महिनामा मात्र १ सय ८६ जनाको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए।
प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले साउनदेखि जेठसम्म पोखरी, तलाउ, नदी, नाला, खोला र खाल्डोमा डुबेर मृत्यु भएकाहरूमा १ सय ९ जना बालबालिका मात्र छन्।
प्रदेश प्रहरीको तथ्यांकअनुसार पोखरीमा डुबेर सबैभन्दा बढी ६६ जनाको मृत्यु भएको छ। त्यस्तै, खाल्डोमा डुबेर ६४ जनाको मृत्यु भएको छ। खोलामा डुबेर ३०, नदीमा १६ र नालामा डुबेर १० जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांक छ।
पानीमा डुबेर प्रदेश २ मा ११ महिनामा १ सय ८६ जनाको मृत्यु भएको छ। धनुषामा ३५ जनाको मृत्यु भएको छ भने रौतहटमा ३३, बारामा ३०, सिरहामा २२, सप्तरीमा १९, महोत्तरीमा १७, सर्लाहीमा १५ र पर्सामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले जानकारी दिए।