सिरहा | सिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
हनुमाननगर गाउँका २९ वर्षीय दीपेन्द्र चौधरीले गत २१ जेठको राति करिब ८ बजेतिर गर्भवती श्रीमती ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा नदिँदा उनले गर्भवती श्रीमती पूजामाथि पेट्रोल खन्याएर आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जलेर गम्भीर घाइते भएपछि पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम ल्याए । त्यहाँ उनको प्राथमिक उपचार गरियो । त्यसपछि सो अस्पतालले घाइते पूजालाई विराटनगर पठायो । विराटनगरस्थित नोबेल हस्पिटलले पनि रेफर गरेपछि काठमाडौं लैजाने क्रममा उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
पूजाको मृत्युपछि प्रहरीले श्रीमान् दीपेन्द्रलाई पक्राउ गरेको छ । श्रीमतीलाई आगो लगाएपछि लहान नर्सिङ होममा ल्याएलगत्तै फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।चौधरीले आफूले श्रीमतीको शरीरमा सलाई कोरेर फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताए । चौधरीमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।