वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट शुक्रबार ५ जनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष वैशाख ३० गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।
वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा उपचाररत वीरगन्ज महानगरपालिका १३ का ६८ वर्षीय पुरुषको शुक्रबार बिहान ११ बजेर १८ मिनेटमा मृत्यु भएको छ । बिहीबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
वीरगन्जकै प्रभु हस्पिटलमा उपचाररत वीरगन्ज १० का ४६ वर्षीय पुरुषको पनि शुक्रबार बिहान साढे १० बजे मृत्यु भएको छ । वैशाख २८ गते अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नरायणी अस्पतालमा उपचाररत बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ की ६० वर्षीया महिलाको शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ । वैशाख २८ गते नारायणी अस्पतालमा भर्न भएकी ती महिलाको त्यहि दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमै उपचाररत वीरगन्ज महानगपालिका वडा नम्बर १६ नगवाकी ८५ वर्षीया महिलाको शुक्रबार मध्यान्हतिर मृत्यु भएको छ । वैशाख २३ गते अस्पतालमा भर्ना भएकी उनीमा त्यही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।वीरगन्जमा यसअघि बिहीबार भने एकै दिन १४ जना संक्रमितको मृत्यु भएको थियो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता शुक्रबार दिउँसोसम्म वीरगन्जमा कोरोनाले ११८ जनाको मृत्यु भइसकेको छ ।