वीरगञ्ज। पर्सामा ३८ जना कोरोना पोजेटिभ भेटिएका छन् ।पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित ९० जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा बाराका ७ जनासहित ४५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १९ जना महिलासहित थपिएका संक्रमितहरु ६ वर्षदेखि ८२ वर्ष उमेर समुहका रहेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा हाल १४ जना संक्रमितहरु उपचारार्थ छन् भने अरु होम आइसोलेट भएर बसेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले यात्रा डेलीलाई जानकारी दिए । डा. दासका अनुसार थपिएका संक्रमितहरुको सिटी भ्यालु १४.६ देखि ३५ सम्म रहेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाका २ जना, कलैया उपमहानगरपालिकाका २ जना, करैयामाई गाउँपालिकाका १ जना, फेटा गाउँपालिकाका १ जना, परवानीपुर गाउँपालिकाका १ जना रहेका छन् ।त्यसैगरी पर्साको पर्सागढी नगरपालिकाका १ जना र वीरगञ्ज महानगरपालिकाका ३७ जना रहेका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ३, ४, ६, ७, ९, १०, १२, १३, १४, १५ र २८ मा संक्रमितहरु भेटिएको डा. दासले बताए ।