वीरगंज। पुरस्कार अथवा चिट्ठाको प्रलोभन देखाएर बैंक ठेगाना माग्ने अनि त्यसैको आधारमा खाताबाट पैसा निकाल्नेजस्ता ‘फिशिङ’ का घटना नेपालमा पनि सुनिन थालेका छन ।झट्ट हेर्दा पत्यार लाग्नेजस्ता इमेल, फोन अथवा म्यासेजबाट आउने सन्देशहरु तपाईको सहयोगका लागि नभई तपाइसम्म पहुच बनाएर फाइदा लिने तरिकाहरु हुन् । साइबर हमलामार्फत क्षति पुर्याउने लक्ष्य फिशिङ गर्नेहरु हुन्छ ।
साइबर जालमा पार्ने काम नै फिशिङ हो । नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङका यस्ता घटनाबाट सुरक्षित रहने केही उपाय सुझाएको छ । प्राधिकरणले पुरस्कार अथवा चिट्ठाको लोभ देखाएर आउने इमेल अथवा फोनकललाई रेस्पोन्स नगर्न आग्रह गरेको छ ।
अपरिचित व्यक्ती तथा ठेगानाबाट आएको इमेल नखोल्न, इमेल सङ्गै रहेको अट्याचमेन्ट र लिङ्क नहेर्न पनि प्राधिकरणले सुझाव दिएको छ । त्यस्ता इमेललाई तत्काल ब्लक अथवा डिलिट गर्न प्राधिकरणले आग्रह गरेको छ ।
इमेल रेस्पोन्सनै गर्नुपर्ने अवस्थामा ब्राउजरमा वेब ठेगाना टाइप गरेर मात्र गर्नु उपयुक्त हुने प्राधिकरणले उल्लेख गरेको छ । अनावश्यक मेलिङ लिस्ट सब्स्क्राइब नगर्न, सब्स्क्राइब गरेको अवस्थामा अनसब्सक्राइब गर्न र वेबसाइट राम्रोसङ्ग पहिचान नगरी आफूसङ्ग सम्बन्धित डेटा उपलब्ध नगराउन पनि प्राधिकरणले सुझाएको छ ।