वीरगंज | अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ ।सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।
सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका प्रवक्ता अशोककुमार साहले आगामी तीन वर्षभित्र सबै स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको बताए।
उनका अनुसार ७३५ स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । गत आर्थिक वर्षमा ११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । अहिले ठेक्का सम्झौता भई ५४ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । चालू आर्थिक वर्षमा ४१ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न हुनेछन् ।
सबै स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि दुई अर्ब ७० करोड रुपियाँ लाग्ने अनुमान विभागले गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले ८० करोड रुपियाँ प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । न्यून बजेटका कारण स्थानीय तहका प्रशासनिक भवन निर्माण गर्न कठिनप्रायः भएको विभागले जनाएको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।