बीरगन्ज । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सडक नाटक प्रदर्शन गरिएको छ । महिलाहरुमा देखिने आङ्ग खस्ने समस्याको विरुद्ध जनचेतनाका लागि सडक नाटक देखाइएको हो । सामुदायिक संस्था सानो पाइलाको आयोजनामा स्थानिय कलाकारहरुले आङ्ग खस्ने समस्या हुनुका प्रत्यक्ष र अप्रत्यक्ष कारण, लक्षण र रोकथामका उपायबारे नाटक प्रस्तुत गरेका थिए ।
सानो उमेरमा विवाह गर्दा, धेरै सन्तान जन्माउदा, भारी वोक्दा, असुरक्षित गर्भपतन गराउदा, प्रजनन अंगहरुमा संक्रमण हुँदा, लामो समय सम्म सुत्केरी व्यथा लाग्दा आङ खस्ने समस्या हुने गरेको नाटकमा देखाइएको थियो । ढाड दुख्ने, अत्यधिक सेतो पानी बग्ने, हल्का रगत मिसिएको योनिश्राव हुनेलगायतका समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने सन्देश प्रवाह गरिएको हो । बीरगन्ज महानगरपालिका वडा नं २९ मुसौलीमा सडक नाटक देखाइएको थियो ।
ग्रामीण भेगका महिलाहरुमा उक्त समस्या बढी देखिएका कारण स्थानिय स्तरमै कार्यक्रम सञ्चालन गरिएको सानो पाइलाका स्रोत परिचालन प्रमुख भाजु पटेलले जानकारी गराए ।महिला दिवसका अवसरमा आयोजना हुने अधिकांश कार्यक्रमहरु सहर केन्द्रीत भएको बताउँदै ग्रामीण भेगमा कार्यक्रम गरिनुपर्नेमा उनले जोड दिए ।