वीरगञ्ज । जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजे संसदीय दलको बैठक आव्हान गरिएको हो।प्रतिनिधि सभा पुन: स्थापनापश्चात आइतबारबाट सुरु भएको संसद् बुधबारका लागि बोलाइएको छ। आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जसपा स्रोतले जनाएको छ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरणपश्चात जनता समाजवादी पार्टी बनेपछि उनीहरुको दलको संयुक्त बैठक बस्न सकेको छैन। संसद्मा राजपाका १७ जना (प्रत्यक्ष ११, समानुपातिक ६), समाजवादी पार्टी १७ (पूर्व संघीय समाजवादी फोरम प्रत्यक्ष १०, समानुपातिक ६, पूर्व नयाँ शक्ति पार्टी प्रत्यक्ष १ जना) सांसद रहेका छन् ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् ।
सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माओवादी केन्द्र र केपी ओलीले नेकपा एमाले पाउने भएका हुन् । तत्कालिन माओवादी सांसदहरूले ओलीलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा सरकार स्वतः अल्पमतमा पर्ने भएको छ । गठबन्धनको सरकार बनाउनमा जसपाको भूमिका पनि महत्वपूर्ण भएकाले बैठक बोलाइएको जसपा स्रोत जनाएको छ।