वीरगंज | ठोरी गाउँपालिका -४ ,विशालचोकमा शनिवार जैविक विविधता संरक्षणमा समुदायको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तराई भुपरिधी कार्यक्रम (ताल) को आर्थिक सहयोग तथा कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले जैविक विविधता संरक्षणमा समुदायको महत्त्वपूर्ण भुमिका हुने विचार व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि ठोरी -४ का वडाध्यक्ष बई बहादुर पाख्रीनले जैविक विविधता मानव जीवनसंग जोडिएको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसको संरक्षणमा सवै लाग्नुपर्नेमा जोड दिए। उनले संरक्षण पनि सापेक्ष हुनुपर्ने धारणा राख्दै वनपैदावारको संरक्षण स्थानीयले गर्नुपर्ने तर उपभोग भने गर्न नपाउने अवस्था सृजना हुनु दुखद भएको टिप्पणी गरे।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै कुसुमाबाटिका मध्यवर्ती उपभोक्ता समिति सदस्य खगेन्द्र श्रेष्ठले जैविक विविधता संरक्षणले पर्यटन विकासमा टेवा पुर्याउने भएकाले यसको संरक्षण अपरिहार्य भएको बताए।कार्यक्रममा चोरी सिकारी नियन्त्रण जागरण अभियानका धन बहादुर तामाङ , स्थानीय शिक्षक चन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कुसुमाबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्क प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी गाउँ कार्यपालिका सदस्य कान्छीमाया पाख्रीन , नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव बुद्धलाल पाख्रीनले गरेका थिए।