कोरोना महामारीको कारण वैशाखदेखि राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन गर्ने जनाए पनि ६ महिना ढिलोगरी सुरु भएको हो।

धनुषामा असोज ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा तथ्याङ्क संकलनको काम सुरु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए।

तथ्यांक संकलन सुरु गरेपश्चात अहिलेसम्ममा १ सय ९८ जनाको तथ्याङ्क संकलन भएको उनले बताए। लकडाउनका कारण तथ्याङ्क संकलनको कार्य केही ढिलो सुरु गरिएकोले तथ्यांक संकलन गर्ने अवधि नतोकिएको मिश्रले बताए।

उनले तथ्यांक संकलन गर्ने जिम्मा आफूहरुको रहेतापनि परिचयपत्र वितरण कार्य राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने भएकोले वितरणको यकिन मिति भन्न नसकिने बताए।

धनुषामा तथ्यांक संकलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा छुट्टै इकाई गठन गरिएको र त्यसका लागि विभागबाटै दुई जना कर्मचारी खटाइएको जानकारी दिए।

तथ्याङ्क संकलनमा सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला र अधिकृत मिश्रलाई जिम्मेवारी दिइएको छ। नेपाल सरकारले २०७५ मंसिरदेखि सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको थालनी गरेको थियो।